Poems

Sunday, March 17, 2013

सक्दिन म !!













आकाशको तारा टिपी ल्याउन सक्दिन
तिम्रो लागि सुनको छानो छाउन सक्दिन म।
आश्वासन मात्र दिई कसरी म ढाँटु?
सारा संसार बिर्सिएर आउन सक्दिन म॥


अन्धकार र उज्यालो त प्रकृतिको रीत हो
औँशीलाई पूर्णीमा मा ढाल्न सक्दिन म।
सामर्थ्य नै छैन मेरो झुटो कुरो बोली
तिम्रो सामु आफैलाई खसाल्न सक्दिन म॥


माया गर्छु भन्छौ फेरी शर्त किन ल्यायौ?
तिम्रो लागि आफैलाई फेर्न सक्दिन म।
यथार्थलाई लत्याएर के पो पाउँछौ तिमी?
तिमी यती बदलिएको हेर्न सक्दिन म॥




प्राप्ति हो समर्पण हो त्याग पो हो माया
तिम्रै शर्तको भरमा माया साट्न सक्दिन म।
तिमी प्रति मेरो सम्मान अझ बाँकी नै छ
मित्रताको कसी अहिल्यै काट्न सक्दिन म॥



सम्झौतामा माया प्रिती कसरी म गासूँ?
आफ्नो स्वाभिमानलाई अहिल्यै भुल्न सक्दिन म।
अन्यौलताको भुमरीमा किन बाँध्छौ मलाई?
झुटो बाचा गरी तिमीलाई छल्न सक्दिन म॥


तिमी आफैँ स्वतन्त्र छौ मैले के पो भनूँ?
निशर्त तिमी माया लगाउ अब भन्दिन म।
साँचो माया भए आउ ढोका बन्द छैन
तर अडान बाँकि भए सुन्न सक्दिन म॥



सम्झनाको चिनो बोकी बाँच्छु तिम्रै यादमा
तिम्रो तस्विर च्यातेर फ्याँक्न सक्दिन म।
जीवन पछि मृत्यु आउँछ प्रकृतिको रीत हो
तर तिमीलाई दोषी बनाई प्राण त्याग्दिन म॥



No comments:

Post a Comment